४ असार २०८३, बिहिबार

देश विकासको लागि ८४ मा एमालेलाई स्पष्ट बहुमत आवश्यक : मन्त्री श्रेष्ठ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ वैशाख । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले वडाको समग्र विकासका लागि योजना तयार बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बिहीबार एमाले हेटौंडा-१८ को वडा कमिटीको चौथोँ अधिवशनलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारले घरघरमा धारा, शुद्ध पिउने पानी अनिवार्य भन्ने अभियानलाई कार्यान्वयनको लागि अघि बढेको बताउँदै वडाको आर्थिक, सामाजिक र संस्कृतिक लगाएतको थप विकासको लागि योजना निर्माण गर्न आग्रह गर्नुभयो ।

यसैगरी, उहाँले एमाले सरकारमा रहेमात्रै विकासका कामहरुले गति लिन्छ भन्ने जनताप्रति विश्वास रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेकपा एमालेले विकासको मुद्दा बोक्छ, समृद्ध मुलुक निर्माणमा अघि बढ्छ भन्ने जनताको बुझाई छ । नेकपा एमालेले मात्रै देशको विकास गर्छ भन्ने जनतामा विश्वास बढेको छ ।’ देशमा भएको पछिल्लो उपनिर्वाचनले एमालेप्रति जनताको विश्वास देखाएको छ सोही अनुरुप जनताको काम गर्नपर्नेमा उहाँले जोड दिनुभयो ।

उपनिर्वाचनले जनतामा उत्साह बढाएको बताउँदै मन्त्री श्रेष्ठले २०८४ को निर्वाचनलाई अहिलेदेखि नै अभियानको रुपमा संगठन वृद्धि गर्नतर्फ लाग्न निर्देशन दिनुभयो । देश विकासको लागि २०८४ मा एमालेलाई स्पष्ट बहुमत आवश्यक रहेको भन्दै उहाँले स्थिर सरकार बनाउने गरि वडा-वडा, टोलटोलमा पार्टीको अभियान सञ्चालन गर्नसमेत निर्देशन दिनुभयो ।

एमाले सरकार नगई मुलुकले निकास पाउन सक्दैन भन्ने निश्कर्षबाट नै अहिले एमाले सरकारमा सहभागी भएको बताउनुभयो । तत्कालीन गठबन्धनको कारण मुलुकमा झन अस्थिरता, आर्थिक संकट, विकासको काम अवरुद्ध भएको कारण मुलुकलाई यो अवस्थाबाट निकास दिन नै एमाले सरकारमा सामिल भएको भन्दै अब देशलाई सही बाटोमा एमालेले डोर्‍याउने बताउनुभयो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य कमल विष्ट, एमाले जिल्ला उपसचिव सीता विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य तथा १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ, एमाले नेताहरु नरहरी महत, कृष्ण राईलगायतको उपस्थिति रहेको थियो ।

एमाले हेटौंडा-१८ को अध्यक्षमा थापा

नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्ष इमानबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

बिहीबार हेटौंडा-१८ को गुम्बाडाँडामा भएको वडा कमिटीको चौथोँ अधिवशनले थापाको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा विश्वनाथ ढुंगाना, सचिवमा कृष्ण भुलुन, सहसचिवमा विक्रम पाण्डे र कुसुम थामी चयन हुनुभएको छ ।