शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

दैनिक नेपाल २०८१ वैशाख २० गते १३:०९

वीरगन्ज, २० बैशाख । पर्साको वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैया तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरण सहित एक महिला दुई पुरुष गरी तीनजना लाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन। उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैया एकथान घरेलु हतियार नलकटुवा, दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुईथान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।

केही दिन अघि भारतीय बजार ढाकामा दुईवटा पसलमा लुटेको सामान मध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ। साथै पक्राउ परेकाहरूले नबील बैंक बिरगंज शाखाको लुटमा संलग्न रहेको र केहीदिन अघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एस्पी मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपहरु पक्राउ परेपछि एकजना वीरगंजका नेपाली सुरक्षा अधिकारी लाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एसपी मिश्रले बताउनुभयो । नबिल बैंक वीरगंजमा चोरीको घटना पछि अपराधीहरु भारतीय क्षेत्रमा आउनसक्ने अनुमानको आधारमा एसपी मिश्रले तीनजना डिएसपीको कमाण्डमा छुट्टाछुट्टै तीनवटा टोली परिचालन गरेको मोतीहारी क्राईम ब्राञ्चका सई मनिष कुमारले बताउनुभयो ।

टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर मन्टु र अर्जुन पक्राउगरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो। उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले९५ हजार रुपैयाँ , र हतियार सहित सविता लाई नियन्त्रणमा पक्राउ गर्न सफल भएको सई मनिष कुमारले बताउनुभयो । बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गत आइतबार राती ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको ताल्चा फुटाएर एकसय र वीस रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी लागेको पर्सा प्रहरीले जनाएको छ। चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित