५ श्रावण २०८३, मंगलबार

‘मनसरा’ आजदेखि हलमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली कथानक चलचित्र ‘मनसरा’ आजदेखि प्रदर्शनमा आएको छ । बुधबार राति ललितपुरको लबिम मलको क्यूएफएक्स हलमा प्रथम प्रदर्शन (प्रिमियर शो) सम्पन्न भएको चलचित्रमा सोसल –ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले सरल रुपमा बलियो गरी उठाएका छन् ।

पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रुपमा बलियो गरी प्रस्तुत गरेका छन् । फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतिको भूमिका निर्वाह गरेकी मेनुकाको सम्बन्धलाई सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट देखाइएको छ ।

महिलालाई मुख्यतः सन्तान उत्पादन गर्ने वस्तुको रुपमा हेरिने नेपाली समाजमा बाँझोपनको समस्याका कारण उसले परिवार र समाजबाट भोग्नुपर्ने हेपाइँ र सामना गर्नुपर्ने अनेक सामाजिक मनोवैज्ञानिक चुनौतीलाई कथामा शसक्त रुपमा देखाइएको छ ।

कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भएपनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रस्तुत गरेको छ । प्रिमियर शो हेरेपछि गायक सत्यराज आचार्यले प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सन्तान उत्पादन गर्न नसक्ने कारणको दोषी सधै महिला मात्रै हुँदैनन् । पुरुष पनि त्यसमा दोषी हुन्छ । महिलामा मात्रै बाँझोपन हुँदैन त्यो पुरुषमा पनि हुन्छ भन्ने जुन गहिरो सन्देश फिल्मले दिएको छ । फिल्म हेरिसकेपछि मलाई हामीले आफ्नो गुण दोष र अरुको गुण दोष दुवै कुरालाई समानान्तर रुपमा हेर्न बुझ्न सक्नुपर्छ भन्ने लाग्यो ।’

यस्तै, प्रिमियर शोमा पुगेका कलाकार तथा निर्देशक निश्चिल बस्नेतले उपेन्द्र सुब्बा साह्रै राम्रो सँग कथा भन्ने निर्देशक भएको बताउनुभयो । मनसरामा कलाकारको अभिनयको प्रशंसा गरेका बस्नेतले भन्नुभयो, ‘उपेनद्र दाईको पहिलो फिल्म जारी जुन लेबलमा बनेको थियो र जसरी चर्चा पायो नि सनसरा पनि त्यही लेबलमा छ ।’

उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । यस्तै, विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुनुहुन्छ ।

प्रिमियर शो पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्देशक उपेन्द्र सुब्बाले भन्नुभयो ‘दुई घण्टा सम्म तपाईहरुले हलमा बसेर हेर्नुभयो भने त्यो नै हाम्रो सफलता मान्नेछौँ ।’