३२ असार २०८३, बिहिबार

नेपाललाई एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने पहिलो अवसर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)को २५औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ । स्पेनको सान्ता सुसानामा बसेको एआइपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम आयोजनाको जिम्मा पाएको हो ।

बैठकमा नेपाल मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेकोमा नेपालले दाबी जितेको थियो । नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआइपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठकको आयोजना गरेको थियो । नेपाललाई कंग्रेस आयोजनाको जिम्मा दिँदै एआइपीएस एसियाका अध्यक्ष दक्षिण कोरियाका हि डोङ जुङले एसियाको एक सक्रिय संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा प्रभावकारी कार्यक्रम गर्दै आएको हुनाले ठूलो सम्मेलनको आयोजना गर्न सक्षम भएकोमा आफू विश्वस्त रहेको बताउनुभयो ।

एआइपीएस एसियाको कंग्रेस कतार, दक्षिण कोरिया, चीन, साउदी अरेविया जस्ता सक्षम राष्ट्रहरुले मात्र गरिरहेको इतिहासमा नेपालले पाएको यो पहिलो अवसर हो ।

अध्यक्ष हि डोङले भन्नुभयो, ‘एसियाली खेलकुद पत्रकारिताको दायरा सबै एसियाली मुलुकहरु फैलाउनका लागि पनि नेपाललाई यति ठूलो जिम्मेवारी दिइएको हो ।’ एआइपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकारहरु उपस्थित हुनेछन्। त्यसमा अरु पाहुना राष्ट्रका पत्रकारहरु पनि सहभागि हुने बताइएको छ ।

आयोजनाको जिम्मा पाएपछि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नेपाल खेलकुद पत्रकार मञ्चले पाएको अवसरका पछाडि सम्पूर्ण सदस्यहरुको मेहनत र परिश्रम रहेको भन्दै उनीहरुको प्रशंसा गर्नुभयो । सुवेदीले कंग्रेसलाई नेपाली खेलकुद क्षेत्र, नेपालको पर्यटन, नेपाली खेल पत्रकारहरुको बारेमा एसियालाई देखाउने मौकाको रुपमा सदूपयोग गर्ने उल्लेख गर्नुभयो ।

बैठकले अर्को वर्षको कंग्रेसको जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसियसनलाई दिएको छ ।