आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

इलाम-२ मा उपनिर्वाचनका दिन यातायात बन्द

दैनिक नेपाल २०८१ वैशाख १३ गते १५:२३

इलाम, १३ बैशाख । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीब्रता दिएको छ । विहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।

विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनकालागि विशेष पासको व्यवस्था गरिएको छ । संचारकर्मीहरुको हकमा आफू कार्यरत संचार माध्यमको सिफारिस, संचार माध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।

एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायकअधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो । कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायतविषयमाकर्मचारीहरुलाई तालिम दिइसकेको पनि बताइएको छ ।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन् । यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन् । यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्यदुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।

प्रतिक्रिया
सम्बन्धित