सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

चिया निर्यातमा भारतीय अवरोध हट्यो

दैनिक नेपाल २०८१ वैशाख १२ गते २०:१०

काँकडभिट्टा, १२ वैशाख । भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ ।

यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो । चिया बोकेका सबै ट्रक पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका छन् ।

योसँगै चिया निर्यातमा देखिएको अवरोध हटेको छ । पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार खुलाइएको जानकारी दिएका छन् ।

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको भन्दै चिया बोकेका नेपाली ट्रक रोकेको थियो ।

नेपालबाट सिटीसी र अर्थोडक्स चिया भारतमा निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

चियाको निर्यातमा अवरोध आएपछि नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले समेत आपत्ति जनाउदै तत्काल अवरोध हटाउन नेपाल र भारत सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित