
काठमाडौं, ९ बैशाख । काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गर्नुभएको छ ।
सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र गौतम श्री बहुउदेश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर पुगेर आफूहरुलाई सरकारले बेवास्ता गरेको बताउनुभएको हो ।
उहाँहरुले ठूला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरुलाई फसाउने गरेको आरोप लगाउनुभयो । पीडितले सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन नगरेको भन्दै आक्रोशित बन्नुभयो ।
सन्ध्या सहकारी पीडित कृति बस्नेतले आँखाभरी आँशु पार्दै भन्नुभयो, ‘हामीले बचत गरेको पैसा मागेको हौं । यसमा सरकारले पनि साथ दिएन । लड्दा लड्दा थाकिसक्यौं । अब सरकार हाम्रो कुरा नसुन्ने नै हो भने बरु मार्दिनु ।’ उहाँले व्यथा सुनाउँदै थपिन् ‘म ट्युमर पीडित छु, अहिले उपचार गर्ने पैसा समेत छैन । एकदम गाह्रो भएको छ । मैले सहकारीमा ६ लाख रुपैयाँ राखेको थिएँ । भएको सम्पत्ति नै त्यति हो । कि सरकारले मारिदियोस् कि न्याय दियोस् ।’
सन्ध्या बचत तथा ऋण सहकारको पेप्सिकोला शाखाका बचतकर्ताको तीन करोड रकम पाएका छैनन् । यस्तै, ओरियन्ट फाइनान्सका पीडित सन्जय कुमार पारिकले बाबुको पेन्सनको नौ लाख रुपैयाँ सहकारीमा फसेको सुनाउनुभयो । उहाँले पीडितहरु सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै सरकारले न्याय नदिए आफैं रकम अपचलन गर्नेको घर भत्काउन जाने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सधैं यहाँ धाउने काम मात्रै भइरहेको छ । समस्याको हल भउको छैन । जसरी बालेनले डोजर लिएर अनाधिकृत घर भत्काए त्यसैगरी जति सहकारीको पैसा खाएर बसेका छन् तिनिहरुको घर भत्काउन डोजर लिएर जान्छौ र भत्काउन सुरु गर्छौं ।’
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगरमा पीडित र पीडक पक्षबीच छलफल गर्न बैठक बोलाइएपनि सहकारी सञ्चालक पक्षका कोही नआएपछि पीडितहरु आक्रोशित बन्नुभएको हो ।
‘बैठक बोलाएका थिए अहिले कोही छैनन् यहाँ । पैसा नेताको डुबेको हुन्थ्यो भने घाँटी समाएर लिन्थ्यो । हामीसँग कोही छैन् कसरी लिने ?’ उहाँले थप्नुभयो, ‘कमसेकम सरकारले एउटा समिति बनाएर हाम्रा समस्या सुनिदिएको भए त हुन्थ्यो । यहाँ सबै वृद्धवृद्धा मात्रै छौं । कसैलाई भिनाजुले फसा । कोही सालीले, कोही जेठानले फसाए । अनि हामी सबै फस्यौं । सरकारलाई हात जोडेर बिन्ति गर्छौ जसरी भएपनि हाम्रो पैसा दिलाइदिनुस्’, पारिकले भन्नुभयो ।








प्रतिक्रिया