शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

दैनिक नेपाल २०८१ वैशाख ८ गते २०:४८

बागलुङ, ८ वैशाख । मधेश प्रदेशका सुवास तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् ।

बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा सुवास पुरुष र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन् । यससँगै दुवैले नगद ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे ।

बागलुङ जिल्ला आइटीएफ तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बुढालाई हराए । उपविजेता श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे ।

आर्मीका अनिल तामाङ तेस्रो भए । तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराएका उनले २० हजार रुपैयाँ र पदक पाए ।

महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन् । उपविजेता सजिनाले नगद ३० हजार रुपैयाँसहित पदक पाइन् । त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराएर तेस्रो भएकी कोशीकी कुसुम राजवंशीले नगद २० हजार रुपैयाँ प्राप्त गरिन् ।

महिलातर्फ ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषमा भने ५५–६२ केजी तौल समूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेको आयोजक संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए । प्रतियोगिताको विजेतालाई ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्याण कायत, नेपाल आइटीएफ तेक्वान्दो महासघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, महासचिव घमबहादुर थापामगर र आयोजक संघ अध्यक्ष एवम् गण्डकी प्रदेश तेक्वान्दो संघका सचिव प्रतीक घर्तीमगर लगायतले पुरस्कृत गरेका थिए ।

प्रोफेसनल फाइटमा प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने प्रावधान थियो ।

प्रतिक्रिया
सम्बन्धित