मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

हिमाल सफाइमा नाम्चे पुग्यो सेनाको टोली

दैनिक नेपाल २०८१ वैशाख ५ गते १३:११

काठमाडौं, ५ बैशाख । नेपाली सेनाको पर्वतारोहण टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र अरु हिमालको सरसफाइकालागि सोलुखुम्बुको नाम्चेबाट प्रभावित क्षेत्रतर्फ बढेको छ ।

नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफाइकालागि सफा हिमाल अभियान–२०२४ अन्तरगत बुधबार नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

बाह्र नेपाली सेना र एक शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालीन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले बताउनुभयो । दुई जना आपतकालीन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा रहने छन् भने अरु ११ जनालाई नाम्चे ब्यारेकले आज बिदाइ गरेको हो ।

यही वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको सेनानी आदित्य कार्कीको नेतृत्वको टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो ।

‘एन एन्डेवर टु सेभ द हिमालयज’ भन्ने नारा दिईएको यो अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नुभएको थियो ।

नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग छ ।

प्रतिक्रिया
सम्बन्धित