६ श्रावण २०८३, बुधबार

एसीसी प्रिमियर कप : आज नेपाल र हङकङ भिड्दै

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार सुरुवात गर्दै यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ ।

प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठूलो धक्का पुगेको देखिएको छ । यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुनेछ । अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई निरन्तरता दिने लक्ष्यका साथ यो खेलमा मैदानमा उत्रिने छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजवंशी र विवेक यादव रहेका छन् ।