मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

 दयाहाङ राईको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत रिलिज

दैनिक नेपाल २०८१ वैशाख १ गते १५:२१

काठमाडौ, १ वैशाख । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ।

सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो । आज सिनेमा रिलिजको दोस्रो दिन हो ।

बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार गरिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

सार्वजनिक गीतमा पवन गिरीको स्वर रहेको छ भने संगीत झूमा लिम्बुले तयार पार्नुभएको हो । गीतमा स्वपनिल स्मृतिको शव्द रहेको छ ।

गीतमा डिग्री माइला बन्नुभएका दयाहाङ राई तथा ‘मुना’को भूमिकामा रहेकी आँचल शर्मालाई फिचर गरिएको छ । भिडिओ सिनेमाको थिममा आधारित भएर तयार पारिएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाले आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र यसका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्छ ।

सिनेमामा दया र आँचलका अलावा प्रकाश घिमिरे, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल आदिको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहनुभएको छ । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुनुहुन्छ । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।

यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिच्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित