सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स सार्वजनिक

दैनिक नेपाल २०८१ वैशाख १ गते १२:०२

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८१ को अवसर परेर चलचित्र ‘यो मन त मेरो नेपाली हो’को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ । २०८१ सालमा नै रिलिजको तयारीमा रहेको ‘यो मन त मेरो नेपाली हो’को छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले बताउनुभयो ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र)को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जिलिङ, जयगाउँ, पश्चिम् बंगाललगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो ।

चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको बताइएको छ ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको बताइएको छ ।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समीर मियाँको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित