मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

यस्तो बनेर आयो ‘पुजार सार्की’को टिजर

दैनिक नेपाल २०८० चैत ३० गते १९:४३

काठमाडौं, ३० चैत । वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको नेपाली चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज गरिएको छ ।

शुक्रबार रिलिज टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ ।

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यस चलचित्रको १ मिनेट १४ सेकेन्डको टिजरमा सबै प्रमुख कलाकारहरूलाई बराबर स्थान दिइएको छ ।

टिजरको लम्बाइ निकै छोटो हुन्छ, तर निर्देशक दिनेश राउतले सबै कलाकारलाई उत्तिकै महत्वका साथ स्थान दिन सफल हुनुहुन्छ । यो टिजरमा अभिनेता आर्यन पुजारीको भूमिकामा देखिनुभएको छ । डोली चढेर आउँदै गरेका उहाँ केही सामन्त लाग्नुहुन्छ तर अर्को दृश्यमा भने मैत बहादुर बनेका प्रदीप खड्कासँगै भागिरहेका देखिनुहुन्छ । एक दृश्यमा भुईँमा लडेर माफी मागिरहेका देखिनुहुन्छ । आर्यनको भूमिकाले उहाँको पात्रको चारित्रिक दृष्टिकोणलाई बहुआयामिक देखाउँछ ।

दमाहा बजाउँदै गरेका प्रदीप खड्का बाजा बजाउने काम गरेको टिजरमा देखिनुहुन्छ । उहाँले युवतीलाई मन पराएको र केही क्षणमा गाउँलेले आर्यनसहित लखेटिरहेको देखिन्छ । उहाँको भूमिकाले जातीय विभेदलाई दर्साएको छ । केही क्षणमा पल शाह देखिनुहुन्छ । उहाँले भरुवा बन्दुक चलाउनुभएको देखिन्छ ।

उहाँले को माथि बन्दुक प्रहार गरेको त्यो भने खुलेको छैन् । टिजरका दृश्य सम्पादन गर्दा आर्यन र प्रदीप माथि बन्दुक हानी रहेको देखिएता पनि पलको भूमिका क्रान्तिकारी रहेको अनुमान गर्न सकिन्छ । टिजरमा अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।

यो टिजरले कलाकारहरूका लुक्स र पोस्टरबाट भएको चर्चालाई थप उत्साहजनक बनाएको छ । टिजरलाई लिएर दर्शकहरूको प्रतिक्रिया आउने क्रम जारी छ । अधिकांश दर्शकहरूले आफू ‘सर्प्राइज’ भएको प्रतिक्रिया दिएका छन् ।

दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नुभएको छ । उहाँले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाउनुभएको छ ।

‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाउनुभएको छैन् । यो चलचित्रलाई विकास सुवेदीले लेख्नुभएको छ । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गर्नुभएको थियो ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्नुभएको हो । एक दर्जन चलचित्रमा सङ्गीत दिनुभएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्नुभएको हो ।

यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गर्नुभएको छ । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गर्नुभएको छ भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिनुभएको छ ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गर्नुभएको छ भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुनुहुन्छ । राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहनुभएको छ ।

यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुनुहुन्छ भने माधवप्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ ।

प्रतिक्रिया
सम्बन्धित