मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक बराबरी

दैनिक नेपाल २०८० चैत २८ गते ८:४५

काठमाडौं, २८ चैत । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

घरेलु टोली रियलका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरे । पाहुना टोलीले एक गोल उपहार दिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भा, फिल फोडेन र जोको गाभार्डिओलले एक एक गोल गरे ।

सिटीका लागि बर्नान्डो सिल्भाले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, १२औं मिनेटमा सिटीकै रुवेन डियासले आत्मघाति गोल गरेपछि रियलले खेल बराबरीमा ल्याएको थियो ।

१४औं मिनेटमा भिनिसियस जुनियरको पासटमा रोड्रिगोले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो । पहिलो हाफ २–१ को अग्रता बनाएको रियलले दोस्रो हाफ भने जोगाउन असफल भयो । ६६औं मिनेटमा फिल फोडेनले जोन स्टोन्सको पासमा गोल गर्दै सिटीले २–२ को बराबरीमा खेल ल्यायो ।

७१औं मिनेटमा सिटीका लागि ज्याक ग्रिलिसको पासमा जोको गाभार्डिओलले गोल गरेपछि ३–२ ले अघि बढेको थियो । तर, ७९औं मिनेटमा भिनिसियसको पासमा भल्भेर्डेले गोल गर्दै पहिलो लेग ३–३ को अवस्थामा टुंग्याएका थिए ।

अब दोस्रो लेग १८ अप्रिलमा म्यानचेस्टर सिटीको मैदानमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित