सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

दैनिक नेपाल २०८० चैत २८ गते ८:०९

मुम्बई, २८ चैत । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनिषा कोइरालाको अभिनय पनि उत्कृष्ट छ ।

९० दशककी लोकप्रिय अभिनेत्रीमध्ये एक मनिषाले निर्देशक भन्सालीसँग २८ वर्षपछि पुनः सहकार्य गरेकी हुन् । उनले सन् १९९६ मा रिलिज भन्सालीको म्यूजिकल फिल्म ‘खामोशी द म्यूजिकल’मा अभिनय गरेकी थिइन् । यो फिल्म भन्सालीको डेब्यू फिल्म थियो । फिल्म फ्लप भयो तर भन्सालीको कामको सबैले सराहना गरेका थिए ।

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिजमा मनीषाले झण्डै तीन दशकपछि दिग्गज निर्देशकसँग काम गर्न पाउँदाको खुशी साटिन् । ‘मैले २८ वर्षसम्म सञ्जयको फोन पर्खिएँ र यो नै खुशीको कुरा हो । यस्ता प्रतिभावानसँग काम गर्न पाउनु सम्मानको कुरा हो । निकै धेरै मेहनत, प्रेम र मायाले हामीले ‘हीरामण्डी’ बनाएका छौं । आशा गर्छौ कि तपाईं सबैलाई यो मनपर्छ । हामीले पहिलोपटक यसलाई हेरेका छौं ।’ मनिषाले भनेकी छन् ।

भन्साली र नेटफ्लिक्सले ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक गरेका छन् । प्रेम, त्याग र स्वतन्त्रताको द्वन्द्व देखाउने ‘हीरामण्डी’मा सबै कलाकार देखिएका छन् । सिरिजमा मनिषाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, सन्जीदा शेख, ऋचा चढ्ढा, शर्मिन सहगल, शेखर सुमन, ताहा शाह र अध्ययन सुमन प्रमुख भूमिकामा छन् ।

सिरिज मे १ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित