शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

‘महाजात्रा’ हेरेपछि झलनाथ खनालले के भने ?

दैनिक नेपाल २०८० चैत २६ गते ७:५६

काठमाडौं, २६ चैत । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौं आइपुग्नुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले फिल्मको प्रशंसा गर्नुभयो । आइतबार बेलुकी आयोजित विशेष शोमा उहाँले फिल्म हेरेपछि भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै तारिफ गर्नुभयो ।

‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टाचार, तस्करी छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, जसकारण देशमा युवा रित्तिएका छन् । फिल्मले गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ ।’ सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा फिल्म हेर्नुभएका नेता खनालले भन्नुभयो, ‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन्, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’

नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराईली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेर्नुभएको थियो ।

निर्देशक तुलसी घिमिरेले हँसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रसंशा गर्नुभयो । ‘यो फिल्मभन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ ।’ निर्देशक घिमिरेले भन्नुभयो ।

अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न निकै कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सरप्राइज रहेको बताउनुभयो । कमेडियन सन्दीपले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्क हुँदै अगाडि बढेको बताउनुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतको अभिनय छ । निर्माण पक्षका अनुसार फिल्मले नेपालमा ११ करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित