आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

ज्ञानुको ‘संवेदनाको समायोग’माथि पोखरामा चर्चा

दैनिक नेपाल २०८० चैत २४ गते १४:०१

पोखरा, चैत २४ गते । साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’को शनिबार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राख्नुभयो ।

“क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भन्नुभयो, “नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ ।”

नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राख्नुभयो । सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् ।

निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राख्नुभयो । “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।” निबन्धकार अधिकारीले भन्नुभयो, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।”

निबन्ध सङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उहाँको भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उहाँले निबन्धमा उल्लेख भएका ‘अमुक’ पात्रलाई निबन्ध सङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाउनुभयो ।

पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित हुनुहुन्छ । यसअघि उहाँका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।

कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा। ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायते टिप्पणी गर्नुभएको थियो । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

विश्व पुस्तक दिवसका अवसरमा आगामी वैशाख ११ गते पोखरामै पुस्तक आदानप्रदान कार्यक्रम आयोजना गरिने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित