शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंले हतियार बोक्ने लाइसेन्स कसरी प्राप्त गरे ?

दैनिक नेपाल २०८० चैत १४ गते ७:३०

काठमाडौं, १४ चैत । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न जिल्ला प्रशासन कार्यालय झापाले दिएको इजाजतमाथि छानबिन गर्न आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले प्रसाईंंलाई प्रशासनले दिएको हतियार राख्ने इजाजतमाथि छानबिन गर्न आदेश दिएको हो, आजको राजधानी दैनिकमा खबर छ ।

५ चैतमा प्रसाईंंका दुई जना बडिगार्ड सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ परेका थिए । दीपक खड्का र रामकुमार धिताललाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । उनीहरू दुई जनाका तर्फबाट सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासले प्रसाईंंलाई हतियार राख्न दिने प्रशासनको इजाजतमाथि छानबिन गर्न आदेश दिएको हो ।

सर्वोच्चले मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१)मा खास किसिमका हतियार प्राप्त गर्न नहुने शीर्षकअन्तर्गत देहाय (घ)मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिनेगरी नकारात्मक सूची राखेको उल्लेख गरेको छ । यस्ता हतियार सुरक्षा निकायका अधिकारीबाहेक सर्वसाधारण नागरिकले राख्न नपाउने सर्वोच्चले बताएको छ ।

‘मुलुकी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१)मा खास किसिमका हातहतियार प्राप्त गर्न नहुने शीर्षकअन्तर्गत देहाय (घ)मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राखे इजाजत प्राप्त गर्न नसकिनेगरी नकारात्मक सूची राखेको देखिएकामा सुरक्षा निकायका अधिकारीबाहेक सर्वसाधारण नागरिकले बरामद भएको वर्गको हतियार राख्न इजाजत प्राप्त गर्न नै नसक्ने स्थिति देखिएकामा इजाजतपत्रवाला दुर्गाप्रसाद प्रसाईंंले जिल्ला प्रशासन कार्यालय झापाबाट सो हतियार राख्न पाउनेगरी लिएको इजाजतपत्र मिति २०७९/०९/०७ मा के कसरी नवीकरण भएको हो ? सो सम्बन्धमा आवश्यक छानबिन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानुनी व्यवस्था गर्नू भनी विपक्षी गृह मन्त्रालयका नाममा यो आदेश जारी गरिएको छ,’ सर्वोच्चले भनेको छ । साथै सर्वोच्चले पक्राउ परेका प्रसाईंंका निजी सुरक्षा गार्डलाई रिहा गर्न पनि आदेश दिएको छ ।

प्रसाईंंका बडिगार्ड धिमालबाट अर्मेरिया पारिन एसएलआर–इटाली राइफल गन २२ एलआर–मेड इन जमर्नी लेखिएको स्वचालित हतियार बरामद भएको थियो । त्यस्तै, सय राउन्ड गोली लोड भएका म्यागजिनसमेत प्रसाईंंका बडिगार्डबाट बरामद भएको थियो ।

हतियारसहित धिमाल पक्राउ परे पनि हतियार बोक्ने लाइसेन्स भने प्रसाईंं र अर्का बडीगार्ड दीपक खड्कासँग थियो । त्यसैले, प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । तर, उनीहरूको परिवारका सदस्यले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित