शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमेरिकाको मुक्तिनाथ धाममा पूर्वयुवराज्ञी हिमानीको रुद्राभिषेक

दैनिक नेपाल २०८० चैत १३ गते १५:५७

काठमाडौं, १४ चैत । नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते पूर्वयुवराज्ञी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्तिपाठ गर्नुहुनेभएको छ ।

अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको मुक्तिनाथ धाममा यस प्रकारको पूजापाठ गर्ने पहिलो विशिष्ट व्यक्ति हिमानी ट्रस्टका शाह हुनुभएको मुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

‘राजनीति हामी जान्दैनौँ, तर नेपालको राजतन्त्रले हिन्दु धर्मको संरक्षण, हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुताको प्रवद्र्धन गरेको र मुलुकमा सबै धर्म र सामाजिक आस्थालाई प्रवद्र्धन गर्न सघाएको सबैलाई थाहै छ ।’ अध्यक्ष पाण्डेले भन्नुभयो, ‘अहिले नेपालमा राजतन्त्र छैन, तर सत्तामा रहँदा शाह परिवारले यस कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको र आज पनि लाखौं नेपालीले धार्मिक विश्वासको विस्तारमा यस परिवारको सक्रियता रहोस भन्ने चाहेको बुझेर हामीले पूर्वयुवराज्ञी हिमानी शाहलाई पूजा–अर्चनाका लागि आह्वान गरेका हौँ । उहाँले हाम्रो निमन्त्रणा स्वीकार गरिदिनुभयो, हामी आभारी छौँ । नर्दन क्यालिफोर्निया क्षेत्रका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने नेपालीहरु पूर्व युवराज्ञी शाहका साथ पूजामा सरिक हुन उत्साहका साथ प्रतीक्षारत छन् ।’

मुक्तिनाथ मन्दिरको स्थापना र भगवानको प्राण–प्रतिष्ठापछि नेपाली मात्र होइन भारतीय र अन्य मुलुकमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु ओइरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नेपालको हिमाली क्षेत्र मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुगेर छोटो तपस्या गरेको जानकारी पाएका हिन्दुस्तानी हिन्दुहरु ठूलो संख्यामा नर्दन क्यालिफोर्नियाको रिचमण्ड आउने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

‘नेपालका शाह राजाहरु हिन्दु तथा बौद्ध धर्मका संरक्षक रहिआएको र हिमानी शाह सोही परिवारको सदस्य रहेका कारण उहाँको दर्शन र पूजाले विशेष महत्व राख्ने कुरामा हामी विश्वस्त छौँ ।’ मुक्तिनाथ धामका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘युवराज्ञी शाहको दर्शन र पूजा कार्यक्रमले लाखौं व्यक्तिमा यस मन्दिरप्रति आस्था बढ्ने र हिन्दु र बौद्ध धर्मका अनुयायीमा विगत २५ सय वर्षदेखि कायम रहेको धार्मिक सहिष्णुतामा पनि योगदान पुग्ने हाम्रो विश्वास छ ।’

पूर्वयुवराज्ञी शाहलाई मुक्तिनाथ धाम परिवारले पूजापाठ सम्पन्न भएपछि उहाँलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित