७ श्रावण २०८३, बिहिबार

पाकिस्तानी वासिमपछि आमिरले पनि सन्यास तोडे, टी–२० विश्वकप खेल्ने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध हुने बताएका छन् ।

यसअघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् ।

अब मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ ।

यसअघि इमाद वासिमले आफ्नो सन्यास तोडेर टी-२० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए । यसपटक इस्लामावाद युनाइटेडलाई पीएसएल च्याम्पियन बनाउने इमाद वासिमले पनि सन्यास तोडेर  आगामी टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका हुन् ।

आमिरले अगस्ट २०२० मा म्यानचेस्टरमा पाकिस्तानका लागि अन्तिम टी–२० खेल खेलेका थिए । उनलाई अब टी–२० विश्वकपका लागि बोलाइने क्याम्पमा राखिने सम्भावना छ ।

छिट्टै ३२ वर्ष पुग्न लागेका आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी–२० खेल खेलिसकेका छन् । उनले सबै फर्म्याटमा जम्मा २५९ विकेट लिएका छन् । आमिरले टेस्टमा ११९ विकेट, एकदिवसीयमा ८१ विकेट र टी–२० मा ५९ विकेट लिएका छन् ।