११ असार २०८३, बिहिबार

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा हुने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा हुने भएको छ ।

नेपाल फिल्म सोसाइटीले सन् २०१६ देखि यो अवार्ड अमेरिकामा आयोजना गर्दै आएको छ । सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार नेपाली फिल्मको युग परिवर्तन भएको र नेपाली फिल्महरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली फिल्मको सफलता विदेशमा गएर मनाउन यो अवार्ड महत्वपूर्ण छ ।

‘अमेरिकामा नेपालबाट धेरै कलाकारहरू पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु पनि अवार्डको अर्को उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘संसारभर छरिएर बसेका नेपाली फिल्मकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको हो ।’

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजनमा हुने अवार्डको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहेको छ ।

अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्कमा सम्पन्न भइसकेका छन् ।

त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले नेपाललाई फिल्म पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्ने बताउनुभयो ।

अवार्डका प्रेस संयोजक सूर्य चन्दले अवार्डको लागि फिल्म छनोट समिति चाँडै गठन हुने र फिल्म छनोट प्रक्रिया अगाडि बढाउनुको साथै नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने फिल्मको जानकारी केही समय पछि दिइने बताउनुभयो ।