२३ असार २०८३, मंगलबार

पूर्वरानी कोमललाई मन पर्‍यो ‘महाजात्रा’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । पूर्वबडामहारानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेर्नुभएको छ । हिमानी ट्रष्टले शुक्रबार बेलुका काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा कोमलले फिल्म हेर्नुभएको हो ।

फिल्म हेरेपछि उहाँले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिनुभएको थियो । ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्‍यो । हामी सबैले रमाइलो गर्‍यौँ ।’ उहाँले भन्नुभयो ।

नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ ।

यता नेपालमा भने शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत हलमा पुग्नुभएको थियो ।

अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिबार पनि दर्शकसँग भेट्ने जानकारी दिनुभयो ।

निर्देशक भट्टराईले पहिलोदिन नेपालमात्र नभई विदेशमा पनि हाउसफुल भइरहेकोले यसलाई दर्शकले आफूप्रति दिएको विश्वासका रुपमा लिएको बताउनुभयो ।

कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले काठमाडौं मात्र नभई मोफसलका दर्शकसँग भेटघाट गर्न चाँडै मोफसल पुग्ने जनाउनुभयो ।

अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुश गरेको बताउनुभयो ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुनुहुन्छ ।