शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेसको निर्वाचन समितिलाई बर्खास्त गर्न जनसम्पर्क समिति क्यानडाको माग

दैनिक नेपाल २०८० चैत ८ गते ८:०९

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध जनसम्पर्क समिति क्यानडाले खेद प्रस्ताव पारित गर्दै प्रतिसोधपूर्ण निर्णय गर्ने निर्वाचन समितिका पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।

निर्वाचन समितिले २० फागुनमा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बद्रीप्रसाद वली क्यानडियन नागरिक रहेको पाइएको भन्दै कांग्रेसको विधानबमोजिम वली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नरहने निर्णय गर्दै पत्राचार गरेको थियो । तर जनसम्पर्क समिति क्यानडाले भने निर्वाचन समितिको यो निर्णयविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

बैठकले निर्वाचन समिति बर्खास्त गर्न माग गर्ने निर्णय गरेको जनसम्पर्क समितिका प्रवक्ता खुमजङ्ग बस्नेतले जानकारी दिनुभयो ।

‘कांग्रेस महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्तावको ३१ औँ पेजको बुँदा ८ मा विदेशमा बस्ने नेपाली मुलका विदेश नागरिककाबारेमा प्रष्टसँग प्रस्ताव लिई सोको बारेमा व्यापक छलफल गरी आउँदो विधानमा स्पष्ट गर्ने भन्नेबारे महासमिति बैठक पास गरेको छ ।’ बैठकपछि प्रवक्ता बस्नेतले भन्नुभएको छ, ‘तर निर्वाचन समितिले हतारमा प्रतिसोधपूर्ण ढंगबाट गैरसंवैधानिक, अपमानजनकरुपमा गरिएको पत्राचार खारेज गर्ने, पत्रको भत्सना गर्ने र खेद प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।’

बैठकले जनसम्पर्क समितिका सभापति वलीलाई व्यक्तिगतरुपमा विभिन्न भ्रामक प्रचार र क्षति पुर्‍याउने काम भएको भन्दै क्षतिपुर्तिको व्यवस्था गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित