
चितवन, ७ चैत । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ ।
प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पुर्याएको बताउनुभयो । उहाँले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म आज एकदमै खुशी छु, हामीले धेरै प्रतियोगिताहरु गर्दै आइरहेका छौं, यो हाम्रो लागि ठूलो प्रतियोगिताको सुरुवात हो ।’
वरुण वेभरेजका कन्ट्री म्यानेजर नेपालका लागि चर्चित ब्राण्ड माउण्टेन ड्यु नेपालको क्रिकेटसंग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । यस प्रतियोगिताले नेपाल र भारतबीचको क्रिकेट सम्बन्धलाई अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा भोलिबाट सुरु हुनेछ ।
प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ । यस प्रतियोगिताको सबै खेल कान्तिपुर म्याक्स एचडी र कान्तिपुरको डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।








प्रतिक्रिया