५ असार २०८३, शुक्रबार

‘महाजात्रा’ प्रिमियर : कलाकारको अभिनय र कथाको प्रशंसा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गर्नुभयो । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश पनि जात्राकै शैलीमा दिएको छ । परिवारसँग बसेर हेर्ने फिल्म बनेको छ ।’ अभिनेता श्रेष्ठले भन्नुभयो ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमुलक फिल्म बनेको प्रतिक्रिया दिनुभयो । ‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । किनकी समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकारले पनि नियमित देखिइरहने भन्दा फरक अभिनय गरेका छन् ।’ दीपाले भन्नुभयो ।

अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको फिल्मले पुरा गरेको बताउनुभयो । ‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पूरा भएको छ । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । यो एक हेर्नै पर्ने फिल्म बनेको छ । यो धित मर्ने फिल्म बनेको छ ।’ अभिनेत्री अधिकारीले भन्नुभयो ।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिनुभयो । ‘जात्रादेखि नै बनिरहेको शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हाँस्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ ।’ उहाँले भन्नुभयो ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहँदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिनुभयो । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु ।’ अभिनेत्री अधिकारीले भन्नुभयो ।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले सन्देश पाउने बताउनुभयो ।

अर्का हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताउनुभयो ।

अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा फिल्ममा पाएको बताउनुभयो । ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ । यसमा हँसाएरै सन्देश दिइएको छ । हामीले शब्दमा व्याख्या गर्नुभन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ ।’ अभिनेत्री शर्माले भन्नुभयो ।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिनुभयो । ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु ।’ अभिनेता आचार्यले भन्नुभयो ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताउनुभयो । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ ।’ निर्देशक भट्टराईले भन्नुभयो ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुनुहुन्छ ।