३१ जेष्ठ २०८३, आइतबार

वाफ उपविजेता महिला राष्ट्रिय फुटबल टोलीलाई गुरुङको १० लाख

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल–११ का यमबहादुर गुरुङ (यम तमु)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ दिनुभएको छ ।

साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको प्रदर्शनबाट प्रभावित भएकाले महिला टोलीलाई १० लाख रुपैयाँ दिनुभएको हो ।

उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा)की केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम उपलब्ध गराइसक्नुभएको छ ।

लामाले गुरुङकी श्रीमती उमाको उपस्थितिमा केही दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताउनुभयो । टोलीमा २३ खेलाडी छन् ।

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयको २–२ गोलको बराबरी भएको थियो ।

त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

विगत १५ वर्षदेखि साउदीमा रहेका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।

‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ गुरुङले भन्नुभयो, ‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु ।’