बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सुन तस्करीमा माओवादी, कारबाहीमा प्रहरी

दैनिक नेपाल २०८० चैत ३ गते ६:४५

काठमाडौं, ३ चैत । सरकारले सुन तस्करीमा जोडिएका माओवादी केन्द्रमा उच्च नेताहरूलाई उन्मुक्ति दिएर प्रहरीलाई कारबाही गर्न खोजेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलई बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रका शीर्ष नेता र उनीहरूका छोराहरूको संरक्षणमा सुन तस्करी भएको निष्कर्ष निकालिएको छ । सरकारले भने सुन तस्करीको अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गरेर आरोपित नेताहरूलाई उन्मुक्ति दिने संकेत गरेको हो, आजको नागरिक दैनिकमा खबर छ ।

माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, अर्थमन्त्री वर्षामान पुनका भाइ प्रनिश पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा जितेन्द्र र दीपेश, कमला रोका, उनका पति दावा छिरिङलगायतको संरक्षणमा सुन तस्करी भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले प्रतिवेदन बुझाएको अर्को दिन शुक्रबार नै सरकारले सुन तस्करीमा अनुसन्धान गरेका प्रहरी अधिकारीलाई कारबाहीको दायरामा ल्याएर नेताहरूलाई भने जोगाउन खोजेको आभास दिएको छ । आयोगको प्रतिवेदन आएकै भोलिपल्ट प्रहरीले दीपेश पुनलाई पक्राउ गरेको छ ।

प्रतिवेदनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी अनुसन्धानमा गम्भीर त्रुटि गरेको औंल्याइएको छ । हङकङबाट ब्रेक सुमा लुकाएर तस्करी गरिएको ६० किलो सुनको अनुसन्धानमा सिआइबीको त्रुटि देखिएको भन्दै त्यसका प्रमुखसहितलाई विभागीय कारबाही सिफारिस गरिएको छ ।

त्यस्तै दुबईबाट इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याइएको सुनको अनुसन्धानमा पनि त्रुटि देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुखलगायतलाई कारबाहीको दायारमा ल्याउन भनिएको छ । जबकि तत्कालीन भन्सार प्रमुख अरूण पोखरेल स्वयंले सुन तस्करीबारे सिआइबीमा पुगेर उजुरी दिएका थिए ।

आयोगले साढे ५ महिना लगाएर तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । तस्करीको ६० किलो सुन र भेपमार्फत ल्याइएको सुनबारे सिआइबीले अुनसन्धान गरेको थियो ।

सिआइबीको अनुसन्धानमा त्रुटि देखिएको प्रतिवेदनले औंल्याएपछि सरकारले प्रमुख एआइजी किरण बज्राचार्यलाई शुक्रबार प्रहरी प्रधान कार्यालय कार्य विभागमा तानेको छ । उनको स्थानमा एआइजी श्याम ज्ञवालीलाई पठाइएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दा सरकारको कोपभाजनमा परेका थिए ।

गत साउन ३ मा ‘रेडी ट्रेड प्रालि’ ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर हवाईमार्ग हुँदै विदेशबाट ल्याएको करिब ६० किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ६० किलो सुन तस्करीमा माओवादीका नेता र चिनियाँ नागरिक मुछिएका थिए ।

२०७९ पुस १० गते भेपमा लुकाएर हङकङबाट सुन ल्याइएको थियो । यसबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सिआइबीलाई पत्र लेखेर अनुसन्धान गर्न भनेको थियो । सुन तस्करीका यी दुवै प्रकरणमा अनुसन्धान गर्दा सिआइबीकी तत्कालीन प्रमुख एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले आरोपित केही नेतालाई अनुसन्धानको दायरामा नल्याएर त्रुटि गरेको जाँचबुझ आयोगको निष्कर्ष छ ।

आयोगले बज्राचार्यसहित चारैजनालाई विभागीय कारबाही सिफारिस गरेपछि सरकारले उनीहरूलाई प्रहरी प्रधान कार्यालय तानेको हो ।

करिब ६० किलो सुन तस्करीमा जोडिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिएका जीवन चलाउनेलाई सिआइबीका अनुसन्धान अधिकारीहरूले संरक्षण गरेको आयोगले औंल्याएको छ ।

फरार चलाउनेले शुक्रबार भिडियोमार्फत सिआइबीले ६० लाख बार्गेनिङ गरेको र ३० लाखमा कुरा मिलेको दाबी गरेका छन् । सिआइबीले आफूलाई महाराजगन्जस्थित कार्यालयमा बोलाएर ३० लाख दिने सर्तमा सबै कागज च्यातेको दाबी चलाउनेको छ ।

‘सिआइबीका डिएसपी दुर्गा दाहाल र सञ्जय थापालगायतको टिमले मसँग ५०/६० लाख रूपैयाँ मागेको थियो । बाजेको सेकुवामा ६० हजारको रक्सी र सेकुवा खाएपछि दुर्गा दाहालले सञ्जय थापाले घर बनाउँदैछ भनेर ६० लाख रूपैयाँ माग्यो । तर मैले दिन सक्दिन भनें । त्यस दिनको कल डिटेल हेर्दा पनि हुन्छ । पैसा नदिँदा श्याम ज्ञवाली र उनीहरू मिलेर पत्रकारलाई जीवन चलाउनेलाई यसरी छाडियो भनेर न्युज दिन्छन्,’ भिडियोमार्फत चलाउनेले भनेका छन् ।

चलाउनेले ज्ञवालीमाथि दुई करोड रूपैयाँ मागेको आरोप पनि लगाएका छन् । सरकारले तिनै ज्ञवालीलाई सिआइबीको जिम्मेवारी दिएको छ । यस विषयमा जिज्ञासा राख्दा एआइजी ज्ञवालीले भने, ‘फरार अभियुक्तले लगाएको आरोप पनि सुनेर बस्ने हो र ।’

करिब ६० किलो तस्करीको सुनको अनुसन्धान कमान्ड गरेका एसपी थापाको अगाडि अनुसन्धान अधिकृतहरूले चलाउनेको बयान लिएका थिए । ललिता निवासको जग्गा हिनामिनादेखि अन्य ठूला घटनामा अनुसन्धान गरेका डिएसपीद्वय कुँवर र दाहालले अनुसन्धानका क्रममा शंकास्पद व्यवहार गरेको आयोगको निष्कर्ष छ ।

६० किलो सुन तस्करीमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ । सुन तस्करीमा जोडिएका चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचोङ वाल्डो क्यासिनोमा जुवा खेल्न गइरहन्थे । उनलाई गत भदौ १ मा सिआइबीले पक्राउ गरेको थियो ।

छाया सेन्टरमा सञ्चालित वाल्डो क्यासिनोमार्फत ‘हुन्डी कारोबार’ शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गरेको भेटिएको छ । सिआइबीले वाल्डो क्यासिनाको लेखा शाखा हेर्ने टेरेन्सलाई पनि बयान ‘कागज’ गराएर छाडेको थियो ।

आयोगको प्रतिवेदनमा टेरेन्सलाई पनि मुद्दा चलाउन भनेको छ । प्रतिवेदनमा सिआइबीले मुद्दा नचलाएका पूर्वसभामुख कृष्णबहादुर महारालगायत ७ जनालाई पूरक अभियोगमार्फत मुद्दा चलाउन सिफारिस गरेको छ । सोही आधारमा प्रहरीले शुक्रबार दिपेश पुनलाई पुनः पक्राउ गरेको हो ।

भेपमार्फत गरिएको सुन तस्करीमा जोडिएका महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने आयोगको निष्कर्ष छ । यसै प्रकरणमा मुछिएका महराका छोरा राहुल थुनामा छन् । दावा छिरिङका व्यावसायिक साझेदार मन्जील श्रेष्ठलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ ।

त्यस्तै अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । गुरुङविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको छ । रावत विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका सवारी चालक थिए । भेपमार्फत ल्याइएको सुन बरामद गरी विमानस्थल भन्सार कार्यालयमा राखिएको थियो । सो सुन चोरेर बजारमा बेच्न भूमिकामा रावत देखिएको आयोगको अध्ययनबाट खुलेको छ ।

आयोग सुन तस्करीमा मुछिएका व्यापारी सुबु केसी र भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन भनेको छ । भण्डारीलाई ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो । भण्डारीको सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्पर्क देखिएको छ ।

आयोगले तस्करीको सुन अनुसन्धानमा त्रुटि गरेको भन्दै त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिवहरू झलकराम अधिकारी र अरूण पोखरेललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन् ।

त्यस्तै त्रिभुवन विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारवाहीको सिफारिस गरिएको छ । टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत छन् । श्रेष्ठ भन्सार विभागको निर्देशक हुन् । त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा आयोगले दुई उपन्यायाधिवक्तालाई पनि विभागीय कारबाही सिफारिस गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंका महान्यायाधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेलाई पनि कारबाही सिफारिस गरिएको छ ।

सिआइबीबाट हटाइयो सहकारी ठगी अनुसन्धान टिम

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको जोडबलमा सहकारी ठगीमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा भएको छ । सिआइबीबाट सूर्यदर्शन सहकारीले गरेको ठगी अनुसन्धानमा खटिएको टिमलाई नै हटाइएको हो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेका व्यापारिक साझेदार एवं सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जिबी राईमाथि अनुसन्धान गरिरहेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहितको टिमलाई त्यहाँबाट हटाइएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानेमाथि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । लामिछाने ग्यालेक्सी टिभीका सञ्चालक रहेका बेला टिभीले सूर्यदर्शन सहकारीबाट ऋण लिएको थियो ।

सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सिआइबीलाई पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालीन सिआइबी प्रमुख एआइजी बज्राचार्यलाई लामिछानेमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठाइएको छ ।

सहकारी ठगीमा अनुसन्धान गरिरहेको टिमलाई गृहमन्त्री लामिछानेले सरुवा गरेको स्रोतले जनाएको छ ।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको प्रतिवेदन अध्ययनपछि कार्यान्वयनमा लैजाने निर्णय भएको बताइन् । ‘सरकारले यो प्रकरणमा कोही पनि दोषी छुट्न नहुने निर्णय गरेको छ । प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिनुभएको छ’, उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित