
काठमाडौं, ३ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाउनुभएको छ ।
शुक्रबार पार्टी कार्य सम्पादन समितिको विस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनीतिक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सञ्चालन गरिरहेको समेत टिप्पणी गर्नुभयो । थापाले अहिलेको राज्य प्रणाली र शासकवर्गप्रति जनतामा वितृष्णा रहेको भन्दै भ्रष्ट व्यवस्था र शासकबाट जनताले मुक्ति खोजेको बताउनुभयो ।
सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा, समावेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको व्यवस्थाले निकास दिन नसक्ने दाबी गर्नुभयो । आफूलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दुराष्ट्रको सम्भावनालाई तुहाईदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताउनुभयो ।
बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको उहाँले स्पष्ट पार्नुभयो । सामूहिक नेतृत्व र सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफूहरुको प्रयास हुने थापाको कथन छ ।
बैठकले मिटरब्याज, लघुवित्त ,सहकारी र बैंकबाट पीडित लाखौ जनताको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने समेत निर्णय गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सक्रिय सदस्यता वितरण अभियान, उपनिर्वाचन र संगठन सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।








प्रतिक्रिया