
काठमाडौं, २ चैत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताउनुभयो ।

‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भन्नुभयो, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको गुनासो सुन्ने राज्यको संयन्त्रमा छु, गुनासो सुन्न मन्त्रालयका ढोका सधै खुल्ला रहनेछ ।’
उहाँले राज्यको कमजोर नीतिका कारण व्यवसायीहरु मारमा परेको उल्लेख गर्नुभयो । ‘जनताहरुमा अहिले निराशा बढिरहेको छ, जनताको निराशालाई आशामा बढल्ने गरी अब काम गछौं’, उहाँले भन्नुभयो, ‘राज्यको कमजोर नीतिका कारण व्यवसायीहरुम मारमा परेकाले अब व्यवसायीमैत्री नीति ऐनमा ध्यान दिन्छौं ।’
उहाँले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघले राज्यको राजश्वमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै आफ्नो कार्यकालमा समस्याहरु सक्दो सुल्झाउने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ कला र संस्कृतिको संरक्षक भएको बताउनुभयो ।
सरकारले व्यवहारिकताको पाटोलाई हेरेर कार्यनिर्देशिका बनाउनुपर्ने मल्लले धारणा राख्नुभयो । ‘व्यावसायीहरुलाई पहिला थुन्ने अनि सुन्ने काम पछिल्लो समय भइरहेको छ’, उहाँले भन्नुभयो, ‘ग्राहकहरु पुरानो सुन लिएर बेच्न आउनुहुन्छ । उहाँहरुसँग पुरानो बिल बिजक हुदैन । र व्यवसायीहरुले उहाँहरुको समस्या बुझेर खरिद गर्नुहुन्छ । त्यसकै आधारमा थुनामा पुग्नुपर्ने अवस्था छ । त्यसैले व्यवहारिक पाटोलाई हेरेर निर्देशिका बनाउनुपर्ने देखिएको छ ।’
उहाँले सुनचाँदी आयातमा भन्सार कर वृद्धि गरेकै कारण अवैध रुपमा सुन भित्रिने र तस्करी बढेको उल्लेख गर्नुभयो ।
‘सुन भित्राउन भन्सारमा बढाइएको १५ प्रतिशत करकै कारण सुनको तस्करी बढेको छ’, उहाँले भन्नुभयो, ‘अबको सरकारले त्यो कार्यलाई कम्तिमा १२ प्रतिशत सम्म झार्नुपर्छ ।’
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले रत्न तथा आभुषणका लागि कच्चापदार्थ नेपालमै भएकाले सरकारले व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नभयो । ‘नेपालमै पाइने रत्नहरु भारतमा सस्तो मूल्यमा निर्यात हुन्छ र नेपालमा भित्राउदा हजारौ बढी तिरेर आयात गर्नुपरेको स्थिति छ । त्यसैले सरकारले यसको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ ।’ उहाँले भन्नुभयो ।
आज (शुक्रबार) बाट सुरु भएको दशौं महाधिवेशन भोलि (शनिबार) सकिनेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने तयारी रहेको छ । सो महासंघमा देशभरका ३२ वटा संस्थाहरु आबद्ध छन् ।








प्रतिक्रिया