शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दाह्रीले मिनिबस तानेर युक्रेनी युवाले राखे विश्व कीर्तिमान

दैनिक नेपाल २०८० चैत १ गते २०:५९

काठमाडौं, १ चैत । एकजना युवकले दाह्रीले मिनिबस तानेर विश्व कीर्तिमान राख्नुभएको छ ।

युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले दाह्रीले मिनिबस तानेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । उसो त उहाँको यसअघि नै तीनवटा विश्व कीर्तिमान छ । योसँगै उहाँले विश्व कीर्तिमानको संख्या चार पुर्‍याउनुभएको हो ।

यसअघि उहाँले आफ्नो दाँत र घाँटीले गाडी तानेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । यस्तै उहाँले आफ्नो घाँटीको सहायतामा ३२ हजार ५ सय केजी वजनको रेल तानेर कीर्तिमान कायम गरिसक्नुभएको छ ।

उहाँले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तान्नुभएको हो । त्यस्तै आफ्नो घाँटीले ७ हजार ७६० केजी वजन भएको गाडी तान्नुभयो भने दाँतले ७ वटा कार तान्नुभयो । यतिमात्र होइन ती सबै कारभित्र चालक पनि बस्नुभएको थियो । यसअर्थमा उहाँले आफ्नो दाँतले एकसाथ सातवटा कार र सातजना मान्छे नै तानिदिनुभयो ।

ती सातवटै कार न्युट्रल गिएरमा राखिएको थियो र त्यहाँ बसेका ड्राइभरहरुले ती कार सीधा रेखामा अगाडि बढ्न सहयोग गर्नुभएको थियो । उहाँले दाँतले तानेका सातवटै कार र त्यसभित्रका मान्छेको कुल तौला ८ हजार ७८४ केजी थियो ।

प्रतिक्रिया
सम्बन्धित