
तिलोत्तमा, २९ फागुन । रुपन्देहीको तिलोत्तमामा निर्माण सुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन गरिएको छ ।
तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गर्नुभएको हो ।
गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसक्नुभएका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गर्नुभएको छ । उहाँ आफैँ पनि आइटी इन्जिनियर हुनुहुन्छ । कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सुरु गर्नुभएको हो ।
रंगशालाका अन्य पुर्वाधारहरु पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
लगानीकर्ता कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उहाँले बताउनुभयो ।
‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ, हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौँ’, कुँवरले भन्नुभयो, ‘पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ, क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’
क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाउनुभएको छ । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिइएको कुँवरले बताउनुभयो ।
उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न, खेलाडी उत्पादन गर्न सहज हुने बताउनुभयो ।
पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले रंगशाला निर्माणले क्रिकेटको उर्वरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताउनुभयो ।








प्रतिक्रिया