शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमेरिकाको मेरिल्याण्डमा शिवको मूर्ति स्थापना (तस्वीरहरुसहित)

दैनिक नेपाल २०८० फागुन २९ गते ७:३७

विजय थापा, मेरिल्याण्ड, २९ फागुन । अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको छ ।

गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाई भएको शिवको मूर्ति ,बसाहा र त्रिशुल सहितलाई स्थापना गर्दै श्रद्धालुभक्तजनहरुले श्रद्धाभक्तिको साथ पूजा अर्चना र किर्तनभजन गरे ।

नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र शहरहरुमा स्थापना गरिएका मन्दिरहरुमा स्थापना गरिएका देवी देवताका प्रतिमाहरु मध्ये कै अमेरिकामा सम्भवत १० फिट उचाई भएको शिवको प्रतिमा मेरिल्याण्डको जर्मनटाउन शहरमा एनईसिसीले पशुपति बुद्ध मन्दिरमा स्थापना गरेको प्रतिमा सबै भन्दा ठूलो प्रतिमा हो ।

अमेरिकाका विभिन्न राज्यहरुमा शिव लिङ्गहरु स्थापना गरिएका छन् तर शिव कै मूर्ति नेपाली मन्दिरहरुमा निकै कम देख्न पाइन्छ । पशुपति बुद्ध मन्दिरमा सन् २०१७ मा ठूलो बुद्धको मूर्ति यही मन्दिरको अर्को स्थान वेल्सभिलमा स्थापना गरिएको थियो भने हाल त्यो मूर्ति पनि जर्मनटाउन मै सारिएको छ ।

मार्च ८ महाशिवरात्रि कै दिन अनावरण गरिनुको साथै वसाहा र त्रिशुल समेतको अर्को शिव लिङ्ग पनि स्थापना गरिएको छ ।

यो विशाल मूर्ति दीपक श्रेष्ठ ,सुनील श्रेष्ठ ,नानी मैया श्रेष्ठ तथा उहाँहरुकै सबै सम्पूर्ण परिवारहरुले पशुपति बुद्ध मन्दिरलाई प्रदान गर्नुभएको हो ।

श्री पशुपति बुद्ध मन्दिरमा १२ बजे पछि रुद्री अभिषेक र प्राण प्रतिष्ठा सम्पन्न गरिएको थियो । साथै महाशिवरात्रीको कार्यक्रम अन्तर्गत ५ देखि ६ः३० सम्म संकल्प पूजा र ६ बजे शिव धुनी गरिएको थियो ।

त्यस्तै ६ः३० देखि ७ः३० सम्म शिव भजन तथा कृतनको आयोजना गरिएको थियो । मन्दिरका पण्डित गोबिन्द अधिकारीले सबै पूजा अर्चना, प्राण प्रतिष्ठा ,रुद्री अभिषेक र संकल्प पूजा गराउनुभएको थियो ।

दिउँसो देखि मन्दिरमा घुईचो लागेको थियो भने १२ बजे देखि रातिसम्म करिब एक हजार मानिसहरुले शिवको प्रतिमा दर्शन गर्नुका साथै शिवधुनीमा सहभागिता जनाएका थिए ।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसिसी)का अध्यक्ष डा. प्रज्ज्वल रेग्मीले शिव मूर्तिका दाता लगायत सम्पूर्ण समुदायलाई मन्दिरको उन्नति र प्रगतिमा साथ सहयोग गर्नुहुने नेपाली समुदायलाई विशेष रुपमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।

त्यसैगरी एनइसिसीका वर्तमान गुठि उपाध्यक्ष तथा पूर्वअध्यक्ष सरोज प्रजापतिले हर्ष व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै गुठिका अध्यक्ष खिलेन्द्र न्यौपानेले शिव तथा बुद्धका ठूला प्रतिमाहरु स्थापना भैसकेपछि मन्दिरको नाम अनुसार काम भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण मूर्तिदाताहरु र अन्य सबै दाता तथा समुदायप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित