
सिरहा, २७ फागुन । सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीया अनिताकुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ ।

राति अबेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
महेन्द्र साह यसअघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ । घटनामा श्रीमान शंकाको घेरमा रहेको बताइएको छ । उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन् ।








प्रतिक्रिया