७ असार २०८३, आइतबार

राजेन्द्र महतोको टिप्पणी- नयाँ गठबन्धन भागबण्डा र कुर्सी मिलाउन मात्रै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गर्नुभएको छ ।

शनिबार उद्योग वाणिज्य संघ जनकपुरधाममा आयोजित राष्ट्रिय मुक्ति क्रान्तिको वृहत संवादात्मक कार्यक्रममा सहभागी हुनजान लागेका महतोले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो टिप्पणी गर्नुभएको हो ।

नयाँ गठबन्धन सरकारले जनताको इच्छा आकांक्षा पूरा नगर्ने उल्लेख गर्दै उहाँले नयाँ बनेको सत्ता समीकरणको सरकार कुर्सीको हेराफेरी र भाग मिलाउनका लागि मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पालैपालो लुटतन्त्र मच्चाउनले कुर्सीको खेल मात्रै हो । यो वा पहिलो जुनसुकै गठबन्धन सरकार आएपनि जनताले केही पाउने होइनन् । उनीहरुबाट विकास हुने होइन । लुटतन्त्र र भ्रष्टाचार चल्ने मात्रै हो । त्यसकारण यो सत्ता समीकरणबाट बनेको सरकारबाट जनताले केही पाउँदैनन् ।’

मधेसवादी दलहरुमा एकताबद्ध हुन नसकेको र महतो आफैं कँही टिक्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा महतोले स्वार्थको लागि मधेसवादी दलहरु फुट्ने र जुट्ने प्रकिया चलिरहने बताउनुभयो ।

मधेसवादी दलहरु एक्लाएक्लै लडेकाले अधिकार र पहिचानवादीहरुको आन्दोलन सफल हुन नसकेको बताउनुभएका उहाँले मधेसमा भएका सबै आन्दोलनको संयुक्त रुपमा राष्ट्रिय मुक्ति क्रान्तिलाई अघि सारेको र त्यसले बहुलराष्ट्रिय राज्य स्थापना गर्ने जिकिर गर्नुभयो । देश सबै नेपालीको बन्नै नसकेको बताएका उनले त्यो नै आजको समस्या भएको धारणा राख्नुभयो ।

‘अधिकार, पहिचानको कुनैपनि आन्दोलन हामी एक्लाएक्लै लडेकाले सफल भएन । सम्पूर्ण अधिकार पहिचानवादीको लागि अब राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्वमा एकीकृत आन्दोलन गर्नुपर्छ । मधेस, थरुहट आन्दोलन, जनजाती अन्दोलनलगायतका सबै आन्दोलनको संयुक्त रुप भनेको राष्ट्रिय मुक्ति क्रान्ति हो र यसले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गर्छ’, महतोले भन्नुभयो ।