३ असार २०८३, बुधबार

गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीबीच यसबारेमा छलफल भएको हो ।

करिब दुई घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने विषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ ।

राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भैसकेको छ ।

यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भंग भएको थियो ।

पूर्वमहामन्त्री सिटौलालाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमतिमा पुगेका प्रधानमन्त्री दाहाल र सभापति शेर बहादुर देउवाले बचन दिएपछि सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएर काठमाडौं फर्किनुभएको थियो । शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सिटौलाप्रति सहानुभूति पनि प्रकट गर्दै आउनुभएको थियो ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।