
काठमाडौं, २६ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्नुभएको छ ।
शुक्रबार मन्त्रीनिवासमा भएको भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको डा. केसीले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरूले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताउनुभयो । त्यस्तै गैरआवासीय नेपालीहरूका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानको बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । मन्त्री श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।
यसअघि गृह मन्त्रालय सम्माल्नुभएका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्माल्नुभएको हो ।
उहाँले बिहीबार रुसी समकक्षी लाभारोभसँग रुसी सेनामा अलपत्र परेका नेपालीहरुको समस्याका बारेमा फोनवार्ता गर्नुभएको थियो । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अल्पत्र परेका नेपालीहरुको उद्धार तथा सहयोगको लागि आग्रह गर्दै आएको थियो ।








प्रतिक्रिया