बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

सत्ताच्युतले कांग्रेसमा सन्नाटा, पार्टीभित्रै एक अर्कालाई दोषी करार गर्न नेताहरू सक्रिय

दैनिक नेपाल २०८० फागुन २६ गते ७:५४

काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस १४ महिनामा दोस्रोपटक प्रतिपक्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार एमालेसहितका दलहरूसँग नयाँ गठबन्धन गरेसँगै कांग्रेस सत्ताच्युत हुन पुगेको हो ।

दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर पक्ष र विपक्षमा विभाजित कांग्रेसका नेताहरू सत्ताच्युत हुनुमा एकअर्कालाई दोषी करार गर्न लागिपरेका छन् ।

कांग्रेसलाई धोका दिएर नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालप्रति संसद्मा नरम रूपमा प्रस्तुत कांग्रेसले शब्द भने कठोर प्रयोग गरेको छ । त्योभन्दा कठोर त गुटउपगुटमा विभाजित कांग्रेसका नेताहरू यस्तो परिस्थिति आउनुमा पार्टीकै नेताहरू दोषी भएको भन्दै एकअर्काविरुद्ध खनिएका छन् ।

सत्तामा रहँदा दाहाल नेतृत्वको गठबन्धनलाई हेर्ने विषयमा कांग्रेस संस्थापन र इतर पक्षको फरकफरक धारणा थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष गठबन्धन निरन्तरताको पक्षमा थियो । तर संस्थापन इतर पक्ष माओवादी नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने पक्षमा थियो।

गुटउपगुटमा विभाजित कांग्रेसभित्र दाहाल नेतृत्वको सरकारलाई हेर्ने फरकफरक दृष्टिकोणले गठबन्धनभित्र आशंका र अविश्वास बढाएको थियो । आशंका हटाउनुको साटो प्रधानमन्त्री दाहालले एकाएक गठबन्धन नै परिवर्तन गरे ।

दाहालको यो कदमपछि भने वर्तमान सरकारलाई हेर्ने सवालमा कांग्रेसका दुवै पक्ष केही हदसम्म एकै ठाउँमा आइपुगेका छन् । तर यस्तो अवस्था आउनुको दोष भने एकले अर्को समूहमाथि थोपरिरहेका छन् । अचानक सत्ताच्युत हुनुपर्दा कांग्रेसमा एकप्रकारको सन्नाटा छाएको छ । केन्द्रदेखि तल्लो तहका नेताहरूको चैन हराएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित