
काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले गठबन्धन परिवर्तन भएपछि कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने बताउनुभएको हो ।
‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ, कति गहिरो घाउ लागेको रहेछ भन्ने कुरा रमेश लेखक ज्युले सँगसँगै अभिव्यक्त गर्नुभयो । यो तहको पीडा, छटपटी, बेचैनी, आक्रोस व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ ।’ उहाँले भन्नुभयो, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने लाग्दैन् । सक्छौं हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन् । त्यति सहज छैन् । साँच्चीनै जनताको नयाँ आशा जगाउन सक्ने विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन् ।’
उहाँले बहुमत प्राप्त गर्न सकेन भने दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानमा नै प्रबन्ध रहेको भन्दै यसमा कुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ । दलहरुकाबीचमा सहकार्य हुन्छ । दलहरु मिलेर सरकार निर्माण गर्छन् । दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिड्न पाउँछौं कि पाउँदैनौं ? कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्यो नि संविधानमा ।’








प्रतिक्रिया