
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पार्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा र माओवादी जनयुद्धलाई कांग्रेसले विद्रुपीकरण गरेको आरोप लगाउँदै त्यसलाई माओवादीले सहन नसकेको बताउनुभएको हो ।
‘कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरियो, निर्वाचन आउन चारवर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरुमाथि अनावश्यक र बेमौसमको मानमर्दन राजनीतिक मान्न सकिएन’ प्रधानमन्त्री दाहालले भन्नुभयो । संविधानमा धर्म निरपेक्ष राज्य भएपनि कांग्रेस महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा ४० प्रतिशत बढी कांग्रेसी नेताहरुले हस्ताक्षर गरेको विषयमा दाहालले भन्नुभयो,‘स्टलनै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउने ठाउँ बन्नगयो ।’
कांग्रेस महासमिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धलाई विद्रुपीकरण गरिएपछि आफूलाई शंका बढेको र कांग्रेसप्रति अविस्वास भएको दाहालको भनाई छ ।
‘राजनीतिक प्रतिवेदनमा जसरी माओवादी जनयुद्धलाई न्युनीकरण मात्र होइन विद्रुपीकरण गरियो, २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन बाँडेर मिलेको विषयमा शंका र अविश्वासको वातावरण बनाइयो त्यसपछि म सोच्न बाध्य भएँ यसले मलाई थप शसंकित गरायो,’ दाहालले भन्नुभयो ।
साथै दाहालले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष प्रचण्डभित्र एक साथ दुई व्यक्ति (माओवादी जनयुद्धको नेतृत्व गरेका कामरेड प्रचण्ड र पुष्पकमल दाहाल) जीवित रहेको र कुनबेला उनको कुन राजनीतिक व्यक्तित्व प्रकट हुन्छ भन्ने कुराले राजनीतिमा अलमल र समस्या पैदा गरेको टिप्पणीको जवाफ दिँदै सुरुमै भन्नुभयो, ‘म अघिल्लो गठबन्धनमा पुष्पकमल दाहाल व्यक्तिका रुपमा थिँए ।’








प्रतिक्रिया