२ असार २०८३, मंगलबार

इलाम–२ उपनिर्वाचनमा एमाले उम्मेदवार बन्न के छ मापदण्ड ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २४ फागुन । केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ ।

जिल्ला सचिवालयको बुधबारको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । ‘उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्नेछन्,’ सचिव गुरुङले भन्नुभयो, ‘त्यसपछि चैत ३ सम्ममा कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ, चैत ५ मा जिल्ला कमिटीले केन्द्रमा उम्मेदवार सिफारिस गर्नेछ ।’

उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ । यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा उसको योगदानलगायत मापदण्ड उम्मेदवारका लागि तय गरिएका छन् ।

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ ।

यसअघिका निर्वाचनमा पालिका र क्षेत्रीय समन्वय कमिटीमा समन्वय गरेपछिमात्रै जिल्लाबाट उम्मेदवार सिफारिस हुनेगरेकामा अहिले भने जिल्ला कमिटीले सोझै तीनजनाको नाम सिफारिस गर्ने अपानि रहेको सचिव गुरुङले बताउनुभयो ।

इलाम–२ मा एमालेबाट दिवंगत नेता सुवास नेम्बाङका स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गर्नुभएका बुद्धिप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवम विश्लेषक डा. देवी क्षेत्री दुलाल, नेम्बाङका छोरा सुहाङ नेम्बाङलगायत उम्मेदवारका आकांक्षी हुनुहुन्छ ।

इलाम–२ क्षेत्रीय समन्वय कमिटी संयोजक समेत रहेका खनालले उप निर्वाचनका लागि आकांक्षीहरुको उचित व्यवस्थापन र सम्मान हुनेगरी पार्टीको विधि, विधान र योग्यताका आधारमा उम्मेदवार चयन गरिने बताउनुभयो ।