५ असार २०८३, शुक्रबार

नयाँ सत्ता समीकरण भाड्न नलाग्न र एजेन्डाको बहस गर्न कांग्रेसलाई विष्णु रिमालको सुझाव

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसलाई नयाँ बनेको सत्ता समीकरण भाड्न नलाग्न सुझाव दिनुभएको छ ।

एक टेलिभजनलाई अन्तवार्ता दिनुहुँदै उपमहासचिव रिमालले अप्रत्यासितरुपमा सत्ताबाट बाहिरिएको कांग्रेसलाई गठबन्धन भाड्न नलाग्न आग्रह गर्नुभएको हो ।

उहाँले यसअघि सत्ता सोझेदारी गरेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग नगरेकै कारण प्रधानमन्त्रीले एमालेको साथ खोज्दै नयाँ गठबन्धन बनाउनुपरेको दाबी गर्नुभयो ।

उहाँले कांग्रेसलाई अब प्रतिपक्षीमा रहेर एजेन्डाको बहस गर्न पनि सुझाव दिनुभयो । एमाले एजेन्डाको बहस गर्दै राष्ट्रिय शक्ति निर्माण र मिसन ८४ को अभियानमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेसलाई पनि एजेन्डाको बहस गर्न आग्रह गर्नुभयो ।

उहाँले अब मुलुकमा दुई राजनीतिक ध्रुविकरण आवश्यक रहेको बताउनुहुँदै त्यसले देशको विकास र जनतामा विश्वास बढ्ने बताउनुभयो ।

यसैगरी उहाँले कांग्रेस नेता शेखर कोइरालाले पार्टीमा विद्रोह गर्ने आँट गर्न नसकेको पनि टिप्पणी गर्नुभयो । उहाँले एमालेले कोशी प्रदेशमा शेखरसँग सहकार्य गरेर उहाँनिकट प्रदेश सांसदलाई मुख्यमन्त्री बनाएको तर त्यहाँ एमालेलाई धोका भएको बताउँदै शेखरले एमालेको विश्वास कायम गर्न नसकेको उल्लेख गर्नुभयो ।

त्यसैगरी उपमहासचिव रिमालले एमाले, नेकपा (माआवादी केन्द्र), रास्वपा, नेकपा एसलगायत दलको नयाँ बनेको सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाएर काम गर्ने बताउनुभयो । उहाँले नयाँ गठबन्धन सरकारले जनअपेक्षित काम गरेर गठबन्धन गर्नुको औचित्य पुष्टि गर्नेसमेत बताउनुभयो ।