२५ असार २०८३, बिहिबार

टी–२० क्रिकेट विश्वकपका लागि सरकारले दियो ५ करोड

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यु, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।’

विश्वकपमा पुगेपछि नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा भएको भन्दै अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिवृद्धि गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष टी–२० वल्र्ड कप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी– २० विश्व कपका लागि नेपाल छनोट भएको थियो ।

सन् २०१४ मा पहिलोपटक टी– २० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी– २० विश्वकप खेल्न लागेको हो ।