
विराटनगर, २२ फागुन । एनआईसी एशिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले राष्ट्रिय टी-२० च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने च्याम्पियनसिपका लागि बैंक र एसोसिएसनबीच सम्झौता भएको हो ।

मार्च ५ देखि मार्च १६ सम्म हुने च्याम्पियनसिप भव्य रुपमा आयोजनाका लागि सहमति भएको हो ।
सहमतिपछि बैंकका ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पुर्याएको गहिरो महत्वलाई एनआईसी एशिया बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने विश्वास लिएको बताउनुभयो । नेपाली जनमानसको मन-मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको उहाँको भनाइ छ ।
एनआईसी एशिया बैंकले एकता, टिमवर्क र उत्कृष्टताको भावनालाई बढावा दिँदै आएको उहाँले बताउनुभयो । बैंकले यस्ता प्रतियोगिताहरूमा सहकार्य गरेर खेल जीवनलाई प्रवर्द्धन गर्ने मात्र नभई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न इच्छुक युवा क्रिकेटरहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको पनि प्रमुख भट्टराईले बताउनुभयो ।
यस्तै, मोरङ जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष एमडी साद कुरेशीले क्रिकेट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गरिने बताउनुभयो । एनआईसी एशिया बैंकको सहकार्यमा प्लेयर अफ द म्याचको रकम क्यूआर कोडबाट भुक्तानी गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
‘यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरूदणडको रहेको हामीले बुझेका छौं । र, यसलाई सम्भव तुल्याउन एनआईसी एशिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ ।’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय टी-२० च्याम्पियनसिपले कोशी क्षेत्रको पूर्ण समृद्धि, एकता र खेलको प्रति जोड देखाउँछ । हामी नेपाली क्रिकेटको वृहत विकासमा योगदान गर्न गर्वित छौं र यसलाई राष्ट्रिय स्तरकै उच्चतम प्रतिष्ठित प्रतियोगितामा पुर्याउन हरप्रयास गरिरहनेछौं ।’
कार्यक्रममा बैंकका कोशी प्रदेशका हिराप्रसाद पौड्याल लगायत विभिन्न व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।









प्रतिक्रिया