शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अवैध बाटो हुँदै अमेरिका पुगेका एक नेपालीको मृत्यु

दैनिक नेपाल २०८० फागुन १९ गते ६:३६

काठमाडौं, १९ फागुन । अवैध बाटो हुँदै अमेरिका पुगेका एक जना नेपालीको मृत्यु भएको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका-३ पोखराका ३२ वर्षीय वसन्त शर्माको अमेरिकामा मृत्यु भएको हो ।

दुई वर्षअघि अवैध बाटो हुँदै अमेरिका पुगेका वसन्तलाई क्षयरोगको संक्रमण भएपछि तीन महिनादेखि अस्पतालमा उपचाररत थिए । उनको न्यूयोर्कस्थित  मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा बिहीबार निधन भएको हो ।

वसन्त २०७८ साल चैतमा अवैध बाटो हुँदै घरबाट हिँडेर ८ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर अवैध बाटो हुँदै अमेरिका पुगेका थिए ।

गत मंसिर ११ मा अस्पताल भर्ना गरिएका वसन्तलाई क्षयरोगको संक्रमण रहेको पाइएको थियो । उनको फोक्सोबाट सुरु भएको संक्रमण दिमागको बायाँ भागसम्म पुगेको थियो । उनको उपचारका क्रममा निधन भएको हो।

वसन्तसँग अमेरिकामा कुनै आधिकारिक कागजात नभएकाले उपचार गर्न निकै कठिन भएको थियो ।

उनको नेपालमा आमा, श्रीमती र दुई छोरीसहित परिवार छ।

मानव तस्करको माध्यमबाट रुकुम र आसपासका क्षेत्रबाट धेरै युवा अवैध रूपमा विदेशिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित