बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

आफ्नै सरकारप्रति प्रचण्डको असन्तुष्टि, असफलता ढाक्न अरूलाई दोष !

दैनिक नेपाल २०८० फागुन १८ गते ८:१८

काठमाडौं, १८ फागुन । प्रतिनिधिसभामा ३२ सिट पाएको संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठदलीय गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो असफलता ढाक्न विभागीय मन्त्री र सचिवमाथि दोष थुपार्न थाल्नुभएको छ ।

आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको सातमहिने समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड स्वयम्ले आफ्नो नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले लक्ष्यअनुसार परिणाम दिन नसकेको प्रतिपक्षीको आलोचना स्वीकार्दै उहाँले बैठकमा भन्नुभयो– ‘जोवन धान्ने र काल पर्खिने खालको सरकार हुनुहुन्न ।’

सरकारले निर्णय लिन र कार्यान्वयन गर्नका लागि धेरै बाधा र अफ्ठ्याराको सामना गर्नुपरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौं । एक वर्षसम्म मोटामोटी ढंगले हामी ठीकठीकै ढंगबाट जान्छौं भन्ने नै थियो । तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ। काल पर्खिने खालको सरकार त हुन हुँदैन हाम्रो । जनतालाई सेवा र विकास निर्माणको दृष्टिले पनि नयाँ गरेर परिणाम देखाउँछौं भन्ने प्रतिबद्धता र संकल्पले अघि बढेको हो । तर, यहाँ आउँदाचाहिँ परिणाम त्यस्तो भइरहेको छैन। मन्त्रीज्यूदेखि मुख्यसचिव र सचिवहरूको पनि दिमागमा बेचैनी बढेको जस्तो देखेको छु । परिस्थिति जटिल र चुनौतीपूर्ण छन् ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक र प्रशासनिक नेतृत्वहरुमा निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको भन्दै उहाँले राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक काम भइरहेको टिप्पणी गर्नुभयो । केही महिनाअघि पनि उहाँले कर्मचारीको कामप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

आफ्नै मन्त्री र कर्मचारीको कामप्रति बेलाबेला असन्तुष्टि पोख्दै आएका प्रधानमन्त्री प्रचण्डले मुलुकको प्रशासन सुधार, विकास निर्माण र सुशासनका लागि काम नगर्ने पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न सक्नुभएको छैन ।

देशको प्रधानमन्त्रीले बोल्ने भाषा र गर्ने व्यवहार नै फरक हुने गरेकाले देश र जनताको अवस्थामा परिवर्तन आउन नसकेको पूर्व प्रशासक श्याम मैनालीले बताउनुभयो ।

प्रधानमन्त्रीले प्रणालीगत सुधारमा काम नगरेर रोइलो गर्दै हिँड्नुको अर्थ नभएको टिप्पणी गर्दै मैनालीले भन्नुभयो– ‘नेपालको कर्मचारी संयन्त्रलाई अधिकार पनि पर्याप्त दिइएको छ । तर, कर्मचारीलाई स्वतन्त्र र निर्भिक हिसाबले काम गर्ने वातावरण छैन । राजनीतिक नेतृत्वबाट गतल कामको श्रेय कर्मचारीको टाउकोमा राख्ने र फाइदाजति आफूले लिने गरेको अवस्था छ । राजनीतिक नेतृत्वले जे गरे पनि हुन्छ भन्ने तहबाट प्रस्तुत हुँदा कर्मचारी संयन्त्रले समेत काम गर्न नसक्ने अवस्थामा विद्यमान छ । राजनीतिक नेतृत्वले मुलुकलाई प्रणालीमा चलाउने कुरामा नलागी रोइलो गर्नुको केही अर्थ छैन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित