बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

माओवादी केन्द्र सुदूरपश्चिमको तरंग केन्द्रसम्म

दैनिक नेपाल २०८० फागुन १८ गते ७:१२

धनगढी, १८ फागुन । गत महिना नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट र अस्ति (१५ फागुन) प्रदेश इन्चार्जबाट स्थायी कमिटी सदस्य खगराज भट्टलाई हटाइएपछि पार्टीको आन्तरिक कलह प्रदेशदेखि केन्द्रसम्म तरंगित भएको छ ।

डडेल्धुराबाट गत निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचित खगराजलाई गत माघ दोस्रो साता संसदीय दलको बैठकबाट बहुमत सदस्यले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी केन्द्रको प्रदेश कमिटीले भने सो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । तर, माओवादी केन्द्रको गत मंगलबार बसेको स्थायी कमिटी बैठकले खगराजलाई संसदीय दलको नेताबाट हटाउने दलका बहुमत सदस्यको निर्णयलाई अनुमोदन गरेको छ ।

त्यस्तै, जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने पार्टीको निर्णयानुसार उनलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाइएको छ । स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश (सेती महाकाली)को इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बिना मगरलाई दिएको छ । सहइन्चार्ज बिना माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी हुन् । स्थायी कमिटीको सो निर्णयमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले लिखित रूपमै असहमति उल्लेख गरेका छन् ।

स्थायी कमिटीको निर्णयप्रति लिखित रूपमै असहमति व्यक्त गरेका खगराजले बुधबार (१६ गते) सामाजिक सञ्जालमा पोस्ट गरेका छन्– ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’

बैठकमै लिखित असहमति दर्ता गराएका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले भनेका छन्– ‘सेती–महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनबढी कमरेडहरूलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको छ, सो प्रदेशमा हाललाई बिना मगरलाई सहइन्चार्ज बनाउनुले सेती–महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यस पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ, खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रूपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’

स्थायी समिति सदस्य खगराज कुनै बेला माओवादी केन्द्रमा डा. बाबुराम भट्टराईनजिक रहेका थिए । माओवादी पार्टीका तत्कालीन नेता लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सहइन्चार्ज थिए । सर्वोच्च अदालतको आदेशबाट तत्कालीन नेकपा विघटन भएपछि लेखराज एमालेमा समाहित भए । त्यसपछि खगराज माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज बनेका थिए ।

गत वर्ष प्रदेशसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेपछि खगराज माओवादी केन्द्रबाट बिनाविभागीयमन्त्री बनेका थिए । तर, केही दिनमै राजनीतिक समीकरण बदलियो । केन्द्रमा पुनः नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भयो । सुदूरपश्चिम प्रदेशमा पनि सोही समीकरणनुसार नयाँ गठबन्धन बन्यो ।

एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सदनमा विश्वासको मत प्राप्त गर्न सकेनन् । उनको बहिर्गमनसँगै खगराजको मन्त्री पद पनि गुम्यो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो । सरकारमा माओवादी केन्द्रका तर्फबाट रमेशसिंह धामी र झपटबहादुर साउद मन्त्री तथा गीतादेवी माल राज्यमन्त्री बने ।

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य रहेका छन् । १२ माघमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा खगराजलाई बहुमतबाट हटाइएको थियो । यसअघि प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमेत बहुमत प्रदेशसभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र अन्य शीर्ष नेताहरूसँग भेट गरी संसदीय दलको नेतृत्व परिवर्तन गर्न ‘आग्रह’ गरेको चर्चा बाहिरिएको थियो ।

गत मंगलबारको माओवादी केन्द्रको स्थायी समिति बैठकले खगराजलाई संसदीय दलको नेताबाट हटाउने प्रदेश संसदीय दलको निर्णयलाई अनुमोदन गर्नुका साथै नयाँ प्रदेश इन्चार्ज र सहइन्चार्ज तोकेपछि कुँडिएका खगराजले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुका साथै पार्टी नै परित्याग गर्ने मुडमा पुगेको चर्चा चलेको थियो । राजनीतिक वृत्तमा चलेको चर्चानुसार उनी नेकपा एमालेमा प्रवेश गर्न तयार भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित