५ असार २०८३, शुक्रबार

नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो ।

जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् ।

त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो ।

नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् ।

त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍यो। जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।