४ असार २०८३, बिहिबार

३२ वर्षपछि नेपाल बक्सिङ ओलम्पिकमा, छानिए थापा र तेली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको तर्फबाट ओलम्पिकमा खेल्नुहुने भएको हो ।

अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुनुहुन्छ ।

टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहनुभएको छ ।

मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ । यो प्रतियोगिताका लागि खेलाडीले दुई साता भारतमा पनि तयारी प्रशिक्षण पनि गरेका थिए ।

ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाउनुभएको छ । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिने छन् ।

उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।

इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बुधबार बिदाई गर्नुभयो ।