
काठमाडौं, १७ फागुन । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ ।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४ औं स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डन अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि विजेता राष्ट्र हो ।
त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५ औं स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ ।
साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।
एन्फाले सावित्रालाई ग्वेंगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो ।
फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।
नेपाली महिला फुटबल टिम :
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सविना चौधरी ।
मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड : चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ र सविता राना मगर ।















प्रतिक्रिया