शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

र्‍यापर हजुरआमाहरू !

दैनिक नेपाल २०८० फागुन १६ गते २०:४८

काठमाडौं, १६ फागुन । दक्षिण कोरियामा यति बेला र्‍याप गाउने हजुरआमाहरू चर्चित छन् । हजुरआमाहरूको सुनी र सात राजकुमारी नाम गरेको र्‍याप समूह निकै चर्चित बनेको छ ।

यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमाहरू हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो ।

तर ६/७ महिनामै समूहको चर्चा अन्तर्राष्ट्रियस्तरमै भइरहेको छ । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई चिनेका छन् ।

तर र्‍याप समूह बनाउने निर्णय भने गएको वर्ष मात्रै गरे । दुर्गम गाउँमा जन्मिएर हुर्किएकोले कसैले पनि पढ्ने मौका पाएनन् । सन् २०१६ मा मात्रै आठै जनाले कोरियाली वर्णमाला हाङगुल सिक्न थाले । एक दिन समूहकी ८१ वर्षकी अगुवा पार्क जेओम–सनले इन्टरनेटमा एउटा र्‍याप भिडियो देखिन् । अनि आफ्नो शिक्षकलाई र्‍याप गाएर देखाउन भनिन् । समूहले ग्रामीण जीवनशैलीबारे आफैँले गीत लेख्छ ।

गीतहरू प्राय: खुर्सानी टिप्ने, बारीमा गएर खरबुजा टिपेर ल्याउने आदि बारे हुन्छन् । विद्यालयमा एक कार्यक्रममा गएको वर्ष समूहले पहिलो र्‍याप गाएको थियो । सबैले आधुनिक र्‍यापरहरुले लगाउने जस्तै हवार्लाङ लुगा र सिक्री लगाएका थिए । उनीहरूको र्‍याप दर्शकले निकै मन पराए । त्यसयता यो समूहले दक्षिण कोरियाको कयौँ स्थान र टिभी शोमा प्रस्तुति दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित